विराटनगर : मोरङको कटहरीमा टायरको तेल उत्पादन गर्दै आएको एउटा उद्योगमा बुधबार बिहानदेखि आगलागी भइरहेको छ। कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी नामक उद्योगमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। यो उद्योगले सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्दै आएको थियो। लगभग बिहान ५:३० बजेतिरबाट आगलागी सुरु भएको स्थानीयले बताए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी राखिएको जानकारी दिए। विराटनगर, इटहरी, कानेपोखरी, रंगेली, दुहवी लगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ। तर पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको उद्योगमा लागेको आगो नियन्त्रणमा लिन मुस्किल परिरहेको प्रहरीले जनाएको छ।