काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको बोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत कम भएकाले मूल्य घटेको हो ।

महामारीको प्रभाव कम हुँदै गए पनि ठूला होटेल, रेष्टुराँ, पार्टी प्यालेसहरू राम्ररी चल्न सकेका छैनन् । यस्तै स्कुल, कलेजहरु अझै बन्द रहेकाले मासुको खपत बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।

चाडपर्वका बेला मासुको खपत बढ्ने भएकाले मूल्य बढ्नुपर्ने हो, मूल्य घटिरहेकाले महामारीका कारण उपभोक्ताको क्रयशक्ति घटेको अनुमान गर्न सकिन्छ । महामारीको समयमा विक्री नहुने त्रासका कारण करीब ४० प्रतिशत कुखुरा पालक किसानले आफ्ना खोरमा कुखुरा हालेका थिएनन् । तर अहिले अवस्था सामान्य हुँदै गएपछि अधिकांश किसानले कुखुरा हालेकाले उत्पादन बढेको बताइएको छ ।