काठमाडौं । संसार देखाउने आँखाको उपचारमा राज्यको पनि त्यति ध्यान पुग्न सकेको छैन, जति यहाँका एक सामाजिक व्यक्तित्वले जीवनमा आँखा उपचारको क्षेत्रमा सेवा गरिरहेका छन् ।
‘मास्के बा’ उपनामले परिचित यहाँका चीजकुमार मास्केको जीवनको धेरै समय आँखाको उपचार सेवामा बितेको छ । विसं २००३ मा गोरखाको पाटेचौरमा जन्मिनुभएका मास्केले विसं २०४२ यता आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा विताएका छन् । नेपाल नेत्रज्योति सङ्घ चितवनका संस्थापक सदस्य मास्केले यहाँ भरतपुर आँखा अस्पताल स्थापनाताकादेखि अहिलेसम्म अनवरत रुपमा सेवामा जुटिरहेका छन् ।
संस्थापक सदस्य मास्के सङ्घको कोषाध्यक्ष, उपसभापति, सभापति भएर आँखा उपचारमा सेवा पुर्याउनु भएको हो । नेपाल नेत्रज्योति सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसकेकाभएका मास्के अहिले पनि सङ्घको केन्द्रीय सदस्य छन् । उनले विगतलाई स्मरण गर्दै भने, “म सभापति हुँदा अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउन मुस्किल पथ्र्यो ।” विसं २०६५ बाट झण्डै नौ वर्ष सभापति भएर आँखा उपचारमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका मास्के सभापति भएको दिन आफूले विगतमा ऋण खोजेर तलब खुवाएको स्मरण गरे ।
उनले भने, “मैले नेतृत्व छाड्दाको दिनमा अस्पतालको खातामा ११ करोड हाराहारी रकम सङ्कलन भएको थियो ।” सभापति हुनु अघिसम्म दैनिक दुई सय हुने बिरामी आफूले छोड्दै गर्दा ६०० पुगेको उनले भने । आफू सभापति हुनुअघि वर्षमा दुई सय आँखाको शल्यक्रिया हुने गरेकोमा छोड्दै गर्दा यो सङ्ख्या आठ हजार पु¥याउन सकेकोमा उनलाई गर्व छ ।
अस्पतालको दुई वटा उपचार केन्द्र हुँदै गर्दा सभापति हुनुभएका मास्केले दुई कार्यकाल पूरा गरेर बिदा भए । अहिले उपचार केन्द्रको यो सङ्ख्या १२ पुगेको छ । उनले स्मरण गरे, “म सभापति हुँदै गर्दा दुईजना विशेषज्ञ चिकित्सकसहित २५ जना कर्मचारी थिए, अहिले यो सङ्ख्या १७ जना विशेषज्ञ चिकित्सकसहित १२५ कर्मचारी पुगेको छ ।”
अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका छन् । अस्पताल कसरी सुधार गर्न सकियो भन्ने प्रश्नमा उनि भन्छन्, “कर्मचारी आउनुअघि म अस्पतालको काममा जुट्थे । कर्मचारी ५ बजे फर्किए पनि काम गर्थे ।” रातमा सपनामा पनि आफूले आँखा अस्पताल देख्ने गरेको उहाँ स्मरण गरे ।
जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उनलाई सम्मान गर्थे । दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उनको महत्वपूर्ण योगदान छ । उनकै पालामा भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग सञ्चालनमा आएको हो ।
नारायणगढका समाजसेवी विनोदकुमार श्रेष्ठको परिवारले ५० लाख लगानी गरेर यो विभाग सञ्चालनमा ल्याइएको हो । नारायणगढका व्यवसायी महेन्द्रलाल प्रधानले अस्पताललाई रु दुई करोड सहयोग गरी अस्पतालमा हीरालाल सन्तुदेवी प्रधान आँखा अध्ययन केन्द्र स्थापना गरिएको छ । भरतपुरका भीमराज पाठकले रु एक करोड ५० लाख खर्च गरेर भीमराज उषामाया पाठक आँखा बैंक स्थापनामा सहयोग गरेका छन् ।
मास्केकैपालामा भरतपुरका प्रितम पियाले ३२ लाख खर्च गरेर बिरामी कुरुवा घर निर्माण गरेका छन् । भने हरिकृष्ण महर्जनले १२ लाख ५० हजार खर्च गरेर पानीको सम्पूर्ण व्यवस्थापन गरिरहेका छन् ।
मास्के आफ्नो पालामा लायन्स क्लबबाट मात्र रु सात करोडभन्दा बढीका आँखाको उपचारमा प्रयोग हुने रेटिना लगायतको उपचार सामग्री प्राप्त गर्न सफल भएको बताएका छन् । त्यसो त आँखा उपचारका लागि व्यवस्थापकीय क्षमता बढाउन मास्केले भारतको कोलकाता, मधुराई, सिङ्गापुर, मलेसिया, हङ्कङ्ग, बैंकक लगायतका सहरमा पु्गेका छन् । उनलाई हालै मात्रै एशिया प्यासिफिक एकेडेमी अफ्थल्मोलोजी कंग्रेसले सम्मान गरेको छ । यो संस्थाले दक्षिण एशियामा उपचारमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने गर्दछ ।
मास्केको सामाजिक यात्रा आँखासँगै अन्य क्षेत्रमा पनि उल्लेखनीय छ । तत्कालीन भरतपुर नगरपालिका–१० का वडाध्यक्ष भएर अनुभव सङ्गाल्नु भएका उनले १२ वर्ष भरतपुर माविको अध्यक्ष भएर सेवा गर्नुभएको छ । यसैगरी चितवन मावि र नारायणी मा .वि.मा समेत उनले समितिमा रहेर काम गरेका छन् ।
रेडक्रसको आजीवन सदस्य, लायन्सको डिष्ट्रिक ट्रेजररलगायत विभिन्न पद, क्यान्सर सेवा समाजमा हाल पनि संयोजक, नारायणी कला मन्दिरमा आजीवन सदस्य, सुस्त मनस्थितिको समितिमा समेत सदस्य रहेका छन् । विभिन्न संस्थामा जुट्ने भए पनि उनको ध्यान आँखामा केन्द्रीत छ । हाल झण्डै एक लाख ५० हजार बिरामीलाई सेवा दिंदै आएको यस अस्पताललाई थप उत्कृष्ट बनाउने उनको चाहना छ ।
सङ्घले यहाँ भरतपुर आँखा अस्पताल सञ्चालन गरेको छ भने भरतपुर उकालोमा सिटी क्लिनिकको रुपमा बहिरङग विभाग र चितवनसहित छिमेकी जिल्लामा १२ वटा आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । एकजना व्यक्तिको निरन्तर लगावले आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुगेको छ । भरतपुर आँखा अस्पतालमा नेपालसहित छिमेकी भारतबाट समेत उपचारका लागि आउने गर्दछन् । मास्केले आफू बाँचुञ्जेल अस्पतालको सेवा गरिरहने ईच्छा व्यक्त गरेका छन् ।