काठमाडौं । नेपालले आगामी महिना रसियामा आयोजना हुने ‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’मा भाग लिने भएको छ । पोखरामा एक महिनाअघिदेखि सञ्चालन भएको बन्द प्रशिक्षणमा सहभागी २० खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि नौ खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घले जनाएको छ ।

बन्द प्रशिक्षण समापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बुधवार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराबाट बिदाइ तथा च्याम्पियनसिपमा सफलताको शुभकामना व्यक्त गरेका छन् । रसियाको सेन्ट पिटर्सवर्गमा आगामी कात्तिक ५ देखि ७ गते हाप्किडोको च्याम्पियनसिप आयोजना हुँदैछ ।

नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घ गण्डकीका उपाध्यक्ष तारा थापामगरले एक महिना लामो बन्द प्रशिक्षण समापन गरिएको र केही दिनको आरामपछि पुनः रसिया जानु १० दिन अगाडि काठमाडौँमा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिएका छन् । उनका अनुसार हाप्किडो सङ्घका प्रमुख प्रशिक्षक सुष्मिता गुरुङ नेतृत्वमा रसिया जाने खेलाडीमा चार महिला र चार पुरुष खेलाडी छन् ।

सहभागी हुने खेलाडीमा भुवन बुढामगर लुम्बिनी, प्रविन गुरुङ बागमती, कृति गिरी गण्डकी प्रदेश, विजयाकुमारी वाइबा प्रदेश नं , गङ्गा घर्तीमगर लुम्बिनी, नवीना श्रेष्ठ लुम्बिनी, गुमान घर्तीमगर लुम्बिनी र गणेश केसी लुम्बिनी रहेका छन् ।