काठमाडौं । जिल्ला अदालत काठमाडौंले तनहुँकी रूपा सुनारमाथि विभेद गरेको भन्दै घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई धरौटी तिर्न आदेश दिएको हो ।
गत महिना असारमा कोठा हेर्न गएकी रुपा सुनारले आफू कामीकी छोरी हुँ भनेर बताएपछि सरस्वती प्रधानले कोठा दिन अस्वीकार गरेकी आरोप लागेको थियो, र रुपाले आफूमाथि जातीय विभेद भएको भन्दै महानगरीय प्रहरी वृत्त सिंहदरबारमा घरबेटी विरूद्ध जाहेरी दिएकी थिइन् ।
पछि प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान गरेको थियो, साथै घरबेटी प्रधानमाथि अनुसन्धान गरी प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भन्दै प्रतिवेदन फिर्ता पठाए पछि घरबेटी सरस्वती प्रधान हिरासतमुक्त भएकी थिइन् ।