काठमाडौं । एनआरएनए आईसीसीको लागि आगामी अक्टोवरमा हुन लागेको निर्वाचनमा अध्यक्षपदमा रबिना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । उनले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
अमेरिकामा बस्दै आएकि थापा, आइसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाकेको राम्रो अनुभव छ । उनलाई युवा र महिलाको साथ र समर्थन छ, नेपाली जनसम्पर्क समिति जापानको तथा अमेरिकाको संस्थापक सदस्यमा रही काम गरिसकेकी थापाले पछिल्लो लकडउनमा विदेशमा महिला हिंसा मा परेका र घर परिवारले पनि अस्वीकार गरेका चेलिहरुको उद्धार गरेको बताइन् ।
“एकपटक को नेपाली सधैंको लागि नेपाली” नारा का साथ उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । विदेशमा बस्ने नेपालीहरुको हकहित र दोहोरो नागरिकको विषयमा काम गर्ने, विदेशमा जन्मिएका नयाँ पुस्ताहरुलाई नेपालसँग जोड्ने र विदेशस्थित नेपालीहरुलाई दिइने मताधिकारको कार्यान्वयन गर्ने उनले बताइन् ।
म्याग्दि जस्तो बिकट ठाउमा जन्मीएकि थापा एनआरएनए १८ वर्षको इतिहास हेर्दा अध्यक्ष पदमा उम्मेदारी घोषणा गर्ने पहिलो महिला हुन् । कांग्रेसको निकट उम्मेदवार रहेकी थापाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने समेत दावी गरेकि छिन् ।