काठमाडौं । गाउँगाउँका घरैपिच्छे रहेको ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेको छ । युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत कुटानीपिसानीका ती साधन लोप हुन थालेक हो ।
दोर्दी गाउँपालिका–४ नेवार गाउँका ७६ वर्षीय वृद्ध बुद्धिमान श्रेष्ठले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताए । ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोलगायतका खानेकुरा ढिकीजाँतोमा कुट्ने र पिन्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आएका उनलाई यतिबेला विगतमा ढिकी जाँतोमा सङ्घर्ष गरिएका ती दिन समय कथाजस्तै लाग्ने थालेको छ ।
उनका पालामा गाउँमा ढिकीजाँतो नभएको कुनै घर हुँदैन थियो । पछिल्लो सयम ती साधन हराउन थालेपछि गाउँघरका वृद्धवृद्धालाई कुनै बेलाको कथाजस्तै भएको हो । गाउँमा बिजुली बत्ती पनि आयो । साथै गाउँगाउँमा भित्रिएको आधुनिक मिलको प्रयोग हुन थाल्यो । पहिलाको जसरी जोस जाँगर पनि उमेरसँगै घटेपछि ढिकीजाँतो गर्न असम्भव हुन पुग्यो । युवापुस्ताले ढिंकीजाँतो बेवास्ता गर्न थालेपछि गाउँघरबाट लोप हुन पुगेको उनको भनाइ छ । तत्कालीन समयमा उनलाई मात्र होइन उनिजस्तै धेरै वृद्धवृद्धाले समेत बिहान भाले बास्नेसाथ ढिंकी जाँतो गर्ने गर्दथे । यसरी ढिकीजाँतोमा कुटेको र पिस्दा स्वाद पनि मिठो हुने गरेको बताए।
पुराना पुस्ताले काम गर्न नसक्ने हुँदा नयाँ पुस्ताले परम्परागत ढिकीजाँतोको बेवास्ता गरी छिटो छरितोको लागि समेत धान कुट्ने विद्युतीय मेसिन नयाँ पुस्ताको प्राथमिकतामा परेसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेको छ । त्यस्तै मस्र्याङ्दी गाउँपालिकाका गाउँमा केही वर्षअघिसम्म गाउँमा प्रत्येक घरमा ढिकी थियो । जाँतो दुई थरी हुन्थ्यो । एकथरी मकै पिन्ने र अर्को थरी कोेदो पिन्ने । बिहानै सबैको घरमा ढिकीजाँतो चलाएको आवाज सुनिन्थ्यो तर अहिले गाउँबाट लोप भएको स्थानीय मोनिका घिमिरेले बताइन् ।
ढिकीजाँतो कुटानीपिसानीका सामग्री मात्रै नभई नेपाली समाजको मौलिक संस्कृति र जनजीवनसँग सरोकार राख्ने पक्ष पनि हो । यस्ता परम्परागत मौलिक ढिकीजाँतोको संरक्षण गर्दै भावी पुस्तालाई देखाउनुपर्दछ । साथै यस जिल्ला पर्यटकीयस्थल भएकाले यस जिल्लामा आउने विदेशी तथा स्वदेशी पर्यटकको लागिसमेत ढिकीजाँतोमा कुटानीपिसानी गरेर बनाइएको मिठो स्वादिला विभिन्न परिकारले आकर्षित गर्नसकेमा पर्यटक वृद्धिमा समेत टेवा पुग्ने देखिन्छ । जिल्लाका दर्जनौँ गाउँमा सञ्चालित घरबासमा पर्यटक पुग्ने गर्दछन् ।