काठमाडौं। दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । 

राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ ।

एक निजी कलेजमा अध्ययनरत धनगढीका निशान खड्का आज बिहानै दशैँमा घर जाने टिकट लिन नयाँ बसपार्क पुगे । काठमाडौँको चाबहिलमा डेरा लिएर बस्दै आएका उनि बिहान ५ बजे नयाँ बसपार्क पुगेका थियो । यही असोज २२ गते घर जाने तयारीमा रहेका उनले दुई घण्टाको प्रतिक्षापछि टिकट लिए । औधी खुशी हुँदै उनले भने “अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन सहज भयो ।”

काठमाडौँबाट कैलाली हुँदै लम्की जाने तयारीमा रहेका आशिष पाण्डे टिकट लिन बिहान ४ बजे अन्यसाथीसहित नयाँ बसपार्क पुगे । निजी कम्पनीमा कार्यरत उनले यही असोज २५ गते लम्की जानका लागि एकजनाको रु दुईहजार ३५ भाडा तिरेर टिकट लिए । उनि काठमाडौँको पेस्सीकोलाबाट टिकट लिन नयाँ बसपार्क पुगेका थिए ।

सरकारले यस वर्षको दशैँका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन्थ्यो ।

गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यसका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा ११ टिकट बुकिङ काउण्टर थप गरेको छ ।

प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दशैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको जानकारीदिए । गत वर्षमा यात्रुलाई हस्तलिखित टिकट प्रदान गरिँदै आए पनि यसपटक भने हस्तलिखित र प्रविधिमैत्री दुवैखाले टिकट वितरण गरिएको छ ।

सङ्क्रमण यथावत रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्सेले ३४ सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० सुरक्षाकर्मी खटाएको छ ।