काठमाडौं। काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार काठमाडौँ उपत्यकाका ५० प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । उपत्यकामा पहिलो मात्रा १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनालाई लगाइसकिएको छ ।
काठमाडौँ उपत्यकाका ३२ लाख ४७ लाख ५५८ जनसङ्ख्यामध्ये १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएको छ । मन्त्रालयको खोप शाखाका अधिकृत भरत भण्डारीले काठमाडौँ जिल्लामा पहिलो मात्रा ५१।५ प्रतिशतले र ४८।७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका बताएका छन् । काठमाडौँ जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या १५ लाख ६२ जना हो ।
त्यस्तै ललितपुरमा ४९।७ प्रतिशत पहिलो मात्रा र ४५।४ प्रतिशत पूर्ण मात्रा तथा भक्तपुरमा ४१ प्रतिशत पहिलो मात्रा र ४९ प्रतिशत पूर्ण मात्रा खोप लगाइसकेका छन् । ललितपुरमा तीन लाख ८२ हजार ८६० जना र भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना खोप लगाउने लक्षित जनसङ्ख्या हो । यसरी हेर्दा ढिलोमा दसैँसम्ममा उपत्यकाको सबै लक्षित वर्गको कम्तीमा ५० प्रतिशतले खोप लगाइसक्ने देखिएको छ ।
राजधानी उपत्यका धेरै जनासङ्ख्या भएको, प्रायः देशभरका मानिसहरुको मिश्रित बस्ती रहेको स्थान हो । बढी जनसङ्ख्या रहेको यो उपत्यकामा ५० प्रतिशत नागरिकलाई खोप लगाउनुलाई उपलब्धिका रुपमा लिनुपर्ने हुन्छ ।
त्यसपछि सबैभन्दा बढी खोप वाग्मती प्रदेशमा लगाइएको छ । यस प्रदेशमा पहिलो मात्रा ३८।२ प्रतिशत र पूर्ण मात्रा ३५।३ प्रतिशतले खोप लगाइसकेका छन् । भण्डारीले काठमाडौँ जिल्लामा ३५ वर्षमाथिका लागि पनि खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिएका छन् ।
सङ्क्रमण दर पनि घट्दै गइरहेको छ । सबभन्दा बढी सङ्क्रमण देखिएको भदौ ३ पछि क्रमशः सङ्क्रमण दर घट्दै गएको पाइएको छ । सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८।३ प्रतिशत मात्र रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८।३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिएका छन् । उनका अनुसार अघिल्लो अगष्ट महिनामा कूल परीक्षण गरिएकामध्ये १३।६ प्रतिशत रहेको थियो । एक महिनाको बीचमा सङ्क्रमण दर ५।३ प्रतिशतले कमी आएको छ ।
नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यामा भएको वृद्धि तथा जनस्वास्थ्यको मापदण्डमा कडाइका कारण पछिल्ला दिनहरुमा भाइरसको सङ्क्रमण घट्दै गएको देखिएको छ ।