काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले बुद्धएयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ। घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको प्राधिकरणले जनाएको छ।
अन्नपूर्णका अनुसार घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको हो, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले अन्नपूर्णलाई जानकारी दिएका छन्।
गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित ‘नर्मल’ अवतरण गरिएको थियो। सो विमान पाइलट आङ्गेलु शेर्पाले उडाएका थिए।
विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि चालकले जहाज काठमाडौं फर्काइएको थियो। सो विमानमा ७३ यात्रु सवारी थिए।