म्याग्दी । संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकि छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकि हुन्। काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा थिइन् ।

सेभेन समिट टेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिएका छन् । “धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्”, उनले भने, “धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।”

श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे-नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकि थिइन् ।

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा (पथप्रर्दशक) पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गर्नुभएको हो । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकि थिइन् ।

पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएका गत याममा गर्ने भनेको धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताउएकि थिइन् ।