काठमाडौँ । साहित्यकार तथा रेडियोकर्मी डा.नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आज आयोजित कार्यक्रममा आहुति, डा. रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठीले संयुक्त रुपमा महाकाव्यको लोकार्पण गरेका हुन् ।
रेडियो नेपाल समाचार महाशाखा प्रमुखसमेत रहेका साहित्यकार डा. लम्सालले अग्नि यसअघि लेखिएका दुई वटा महाकाव्य कर्ण र धराभन्दा भिन्न विषयवस्तु, विशेष गरी जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्यमार्फत उजागर गरेको बताएका छन् ।
कार्यक्रममा आहुतीले महाकाव्यले नेपाली समाजमा रहेको विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले दलित समुदाय नेपाली इतिहासको प्रथम प्राविधिक वा वैज्ञानिक रहे पनि जात व्यवस्थाले त्यसको सही मूल्याङ्कन हुन नसकेको बताएका छन् ।
यसैगरी डा. रामप्रसाद ज्ञवालीले वि.सं २०५० को दशकयता नेपाली साहित्यमा लेखिएका तीन सयभन्दा बढी महाकाव्यमध्ये ‘अग्नि’ सबैले पढ्नै पर्ने विषय र पात्रमाथि लेखिएको उल्लेखनीय महाकाव्य भएको धारणा राखेका छन् ।
कार्यक्रममा डा. गीता त्रिपाठीले अग्नि महाकाव्यमार्फत नेपाली समाजको चरित्र, उत्पीडन र विभेदको कथा मौलिक ढङ्गले प्रस्तुत गरेकोमा लेखकको प्रशंसा समेत गरेकि थिइन ।
यो महाकाव्य बुकहिल प्रकाशनले बजारमा ल्याएको हो ।