नवलपुर । भित्तामा झुण्ड्याइएका तस्वीरमध्ये कुनामा एउटा फरक तस्वीर छ । हातले कोरिएको मानिसको चित्रमा कपाल मुण्डन गरिएको अनि निधारमा रातो टीका छ । जुँगा काटिएको तर लामा लामा दाह्री छन् । गेरु बस्त्र धारण गरेको मान्छेको घाँटीमा भने क्रस ९जिसस० चिह्न भएको माला छ । जुन तस्वीरले सबैको ध्यान सजिलै खिचेको छ ।
एउटै व्यक्तिलाई कतिकति धेरै प्रकारको रुप धारण गरिएको । तस्वीरले सबैको ध्यान खिचे पनि यसको अर्थ बुझ्न भने अलि कठिन नै छ । चित्रकार प्रकाश थापा ‘प्रथा’ले कोरेको उक्त तस्वीरले सबै जसरी गए पनि पुग्ने ठाउँ भनेको एउटै हो भन्ने अर्थ दिन खोजेको छ । “यो चित्रको मुण्डन गरिएको टाउको र टीकाले हिन्दु, जुँगा काटेर दाह्री पालेको हुँदा मुस्लिम, गेरु बस्त्रले बौद्ध तथा घाँटीमा लगाएको क्रस मालाले क्रिश्चियन भन्ने अर्थ बुझाउँछ”, कलाकार थापा भम्छन्, “यो तस्वीरले मान्छेको आकारप्रकार संसारभरि एउटै हुन्छ, दिमाग फरक हुन्छ, जाने ठाउँ एउटै हुन्छ, तर पुग्ने ठाउँ एउटै हुन्छ भनेर भन्न खोजेको हो ।”
नवलपरासी बर्दघाट(सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-४ स्थित किसान आर्ट ग्यालरीमा ‘आत्मदीपन’ चित्रकला प्रदर्शनी भइरहेको छ । हामी कलाकार, त्रिवेणी साहित्य परिषद् र कलावती आर्ट काउन्सिलको आयोजनामा आयोजना गरिएको प्रदर्शनी दसैँको पूणरिमासम्म सञ्चालन हुनेछ । सो प्रदर्शनीमा नवलपुर तथा चितवनका विभिन्न १७ कलाकारले कोरेका ५२ तस्वीर राखिएका छन् । मन परेको तस्वीर प्रदर्शनीस्थलबाटै किन्ने व्यवस्थासमेत मिलाइएको छ ।
प्रदर्शनीमा राखिएका तस्वीरले शीर्षकलाई प्रतिनिधित्व गर्ने कलाकार थापाले बताए । “प्रदर्शनीमा राखिएका तस्वीर शीर्षकअनुसार भयो भएनभन्दा पनि चित्रबाट मानिसको मुहारमा पक्कै खुसी ल्याउँछ”, थापाले भने, “हो त्यही खुसी अर्थात् उज्यालो ल्याउनु हो हाम्रो उद्देश्य ।” प्रदर्शनीमा थापाका तीन चित्र राखिएका छन् । सबै चित्रले बुद्ध दर्शन समेट्दै शान्तिको चाहना राखेका थापाले बताए ।