काठमाडौं । आज (औंसी श्राद्ध) सोह्र श्राद्धको अन्तिम दिन, आश्विन कृष्ण पक्ष औँसीलाई सर्वपितृ मोक्ष औँसी भनिन्छ । १६ दिनको पितृपक्षको समापन भएको छ ।
सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ। जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ। पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गरिन्छ।
पितृ पक्षको अन्तिम दिन आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र श्राद्धको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । अगावैका तिथिहरूमा तिथि थाहा भएका पितृहरूको श्राद्ध गरिन्छ।
यसरी पूर्णिमाबाट शुरु भएको पितृपक्ष ठ्याक्कै औँसीमा आएर समापन हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यु तिथि पारी हिन्दू धर्मावम्बीहरूले पितृकर्म अर्थात् श्राद्ध गरिसकेका छन् ।
हिन्दू संस्कारमा श्राद्ध एकदमै महत्वपूर्ण कर्म हो । जसलाई सामान्यतया परिवारको जेष्ठ पुत्रले गर्छन् । तथापि सर्वपितृ औंसीका दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिने गर्छन् ।
श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी–बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ । भान्जा–भान्जी अनि चेलीबेटीको उपस्थितिविना श्राद्धकर्म पूर्ण हुन सक्दैन ।
पितृहरूको सम्झना अनि सम्मानका लागि यी १६ दिनहरू अत्यन्त महत्वपूर्ण हुन्छन् । पिण्ड दिएपछि गौमुत्र अर्थात् गहुत खाएर अनि टिकोटालो गरेर समापन गरिएको श्राद्ध कर्मपश्चात् अब दसैँको औपचारिक उत्साह र उमंगको सञ्चार हुनेछ ।