काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी संस्थागत विध्यालयमा अध्ययन गर्न चाहेका छात्रछात्रालाई छनोट गरी छात्रवृत्तिको सिफारिस गरेको हो ।

नेपाल सरकारको साविक शिक्षा ऐन र महानगरको शिक्षा ऐन एवं कार्यविधिमा संस्थागत विध्यालयले न्यूनतम १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने उल्लेख छ । हालसम्म ऐनका भएर पनि कार्यान्वयन हुनसकेको थिएन । संस्थागत विध्यालयमा पहुँचको भरमा केहीलाई छात्रवृत्ति दिइँदै आएको थियो । महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार देशभरका पालिकामा पहिलोपटक महानगरले छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार सार्वजनिक सूचना जारी गरेर विध्यार्थीको छनोट गरी सिफारिस गरेको हो ।

महानगरपालिकाका कक्षा ११ सञ्चालन भएका २८ संस्थागत विध्यालयमा चार हजार ७४७ विध्यार्थी भर्ना भएका छन् । ती विध्यार्थी सङ्ख्याको पाँच प्रतिशत महानगरले छात्रवृत्ति सिफारिस गरेको हो भने बाँकी पाँच प्रतिशत विध्यालयले छात्रवृत्ति दिनेछन् । छात्रवृत्ति पाएकाले भर्ना शुल्क र मासिक शुल्क भुक्तान गर्नु पर्दैन । पौडेलले भने, “छात्रवृत्ति पाएकाको भर्ना र मासिक शुल्क बुझाइएको भए फिर्ता पाइने छ ।” महानगरभित्रका चार दैनिक पत्रिका र छवटा रेडियोमा सार्वजनिक सूचना जारी गरेर छात्रवृत्तिको आह्वान गरिएको थियो । यसमा २९६ जनाको आवेदन परेको थियो ।

महानगर प्रमुख रेनु दाहालका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर छात्रवृत्ति सिफारिस गरिएको हो । त्यसमा जेहेन्दार, गरिब तथा विपन्न, आदिवासी जनजाति, दलित, अपाङ्ग, जनआन्दोलन घाइतेका सन्तति, सहिद परिवार, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्ततिलाई छात्रवृत्ति सिफारिस गरिएको दाहालले बताए । उनले भने, “सुरुमा निजी शिक्षण संस्थाका सञ्चालक सकारात्मक नभए पनि पछि उनिहरु यसमा सकारात्मक भएका छन् ।”

महानगरपालिकाले उपलब्ध गराएको सङ्ख्या बराबर विध्यालयले समेत छात्रवृत्ति दिने हुँदा लक्षित वर्ग लाभान्वित भएको उनको भनाइ छ । हालसम्म कुनै पनि पालिकामा लागू गर्न नसकिएकामा महानगरपालिकाले छात्रवृत्ति व्यवस्थापन कार्यविधि बनाएर छात्रवृत्ति वितरण गरेको उनले बताए । यसले विध्यार्थी लाभान्वितसँगै नयाँ पद्दतिको थालनी सुरु गरिएको उनले जानकारी दिए ।

एसइईको प्राप्ताङ्क जिपिएका आधारमा विध्यार्थी छनोट गरिएको हो । महानगरपालिकाभित्र सरकारी तहमा कक्षा ११ पढाइ हुने विध्यालय ५१ रहेका छन् । ती विध्यालयले पनि छात्रवृत्ति दिँदै आएका छन् । कक्षा ११ मा निजी विध्यालयले वार्षिकरूपमा एक विध्यार्थीसँग रु एक लाख हाराहारी शुल्क लिँदै आएका छन् । सो शुल्कमध्ये भर्ना र मासिक शुल्क छात्रवृत्ति पाएकाले तिर्नु नपर्ने भएको हो । कक्षा ११ मा छात्रवृत्ति पाएकाले १२ मा पनि स्वतः पाउनेछन् ।