वीरगञ्ज । बडा दसैँ, तिहार छठलगायतका विविध पर्वलाई मध्यनगर गर्दै राजधानी वीरगञ्जमा दसैँ सस्तो बजार सुरु भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सञ्चालनमा ल्याएको दसैँ बजारमा बजारको भाउभन्दा १० देखि २० प्रतिशतसम्म छुटमा सामग्री बिक्री वितरण भइरहेको हो ।

उवा सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताका अनुसार साल्टट्रेडिङ, घरेलुसहित जिल्ला प्रशासन कार्यालयलगायतसँग समन्वय गरी लगाइएको सस्तो दसैँ बजारमा लगभग २० विभिन्न आवश्यक सामग्रीका कक्ष छन् । उपभोक्तालाई चाडवाडमा सहुलियत दिने अभिप्रायले सङ्घले हरेक वर्ष सस्तो बजार लगाउँदै आएको छ ।

आदर्शनगरस्थित टिवडेवाल धर्मशाला परिसरभित्र लगाइएको सस्तो दसैँ बजारमा आम उपभोक्ताले प्रयोग गर्ने खाद्यान्नसहित किराना सामानदेखि ग्याससम्मका सामग्री सस्तो मूल्यमा उपलब्ध गराइने सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल पटवारीले जानकारी दिएका छन् ।