बागलुङ । काठेखोला गाउँपालिका–६ बिहुँको कार्यालय भवन निर्माण भएको छ । भवनको बिहीबार गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले उद्घाटन गर्दै भवन निर्माणसँगै वडाको सेवा प्रवाह चुस्त र सहज बन्ने विश्वास व्यक्त गरे ।
कूल रु ६९ लाख ३० हजारको लागतमा भवन बनेको वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिएका छन् । यसमा प्रदेशसभा सदस्य सापकोटामार्फत निर्वाचन क्षेत्र विकास कोषको ४९ लाख, वडाको १५ लाख र १० प्रतिशत जनश्रमदान जुटाइएको हो । दुईतले भवनमा बैठककक्ष, न्यायिक समिति, जनप्रतिनिधिका कार्यकक्ष, आवासलगायतका कोठा छन् । आफ्नै भवन नहुँदा यसअघि वडा कार्यालय भाडाको घरबाट सञ्चालित थियो । नवनिर्मित वडा कार्यालय भवन छेउ पहिले नै सभाहल बनिसकेको छ ।
स्थानीय तह बनेपछिको पहिलो कार्यकालमै वडालाई चाहिने भौतिक संरचना बनेकामा वडाध्यक्ष कँडेलले सन्तोष व्यक्त गरे । यहाँका कैंयन वडाका अहिले पनि आफ्नै भवन छैनन् । भवन नहुँदा चर्को भाडामा कार्यालय चलाउनुपर्ने स्थिति छ ।