चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले ५०० जना अटाउनसक्ने सुविधासम्पन्न सभाकक्ष निर्माण गरेको छ । नगर प्रमुख प्रभा बरालका अनुसार वडा नं २ स्थित गड्यौलीमा एक बिघा १० कट्ठा जमिनमा रु एक करोड चार लाखको लागतमा निर्माण गरिएको सभाकक्ष परिसरमा पर्याप्त पार्किङको व्यवस्था गरिएको छ । राप्तीमा सभाकक्ष नहुँदा त्यहाँ हुने कार्यक्रमका लागि खैरहनी र सौराहा जानुपर्ने बाध्यता थियोे ।
उनले भने, “अब राप्ती नगर क्षेत्रमा आफ्नो कार्यक्रम गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।” बरालले नगर प्रमुख भएदेखि सो क्षेत्रमा सभाकक्ष बनाउनु पर्नेमा जोड दिँँदै आएका थिए ।
प्रदेश र सङ्घबाट आवश्यक बजेट उपलब्ध नभएपछि आन्तरिक स्रोतबाटै नगरपालिकाले सभाकक्ष बनाएको हो । सभाकक्ष घटस्थापनाका दिन शुभारम्भ गरिएको थियो । राप्तीवासीले यो कक्षलाई आफ्नो सम्पत्तिको रुपमा लिएका छन् । यसबाट चितवनको पूर्वी क्षेत्रका बासिन्दाका साथै मकवानपुर जिल्लाका केही गाउँपालिकाले समेत लाभ लिन सक्छन् ।
राजमार्गमा सिसी क्यामरा
नगरपालिकाको राजमार्ग क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ । पूर्वपश्चिम राजमार्गको खुरखुरेदेखि लोथरसम्म १० लाख खर्चेर नगरपालिकाले छ वटा सिसी क्यामरा जडान गरेकोे हो । नगरप्रमुख बरालले दुर्घटना र अन्य आपराधिक गतिविधिको अनुसन्धान सहज गराउनका जडान गरिएको क्यामराको मनिटर डढुवा इलाका प्रहरी कार्यालयमा राखिएको जानकारी दिए ।