काठमाडौं । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग इपीएल टि-२० को उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा रानोज भिड्दै छन् । खेल दिउँसो १२ः१५ देखि टियु क्रिकेट मैदानमा हुँदैछ । यी दुई टिम पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै ९ विकेटले पराजित गर्दै सिधै फाइनलमा प्रवेश गरेको थियो भने पोखरा पहिलो क्वालिफायरमा हार व्यहोरे पनि दोस्रो मौकामा भैरहवालाई पराजित गर्दै फाइनलमा चितवनसंगको भेट पक्का गरेको थियो ।प्रतियोगितामा ६ खेल खेलेको चितवनले पाँच जित निकाल्दै फाइनल खेल्न लागेको हो ।

पोखराले भने ७ खेलमा ४ जित २ हार र एक बराबरी खेलेको थियो । उपाधि भिडन्तअघि टियु मैदानमा चितवन टाइगर्सका कप्तान सोमपाल कामी र पोखराका राइनोजका कप्तान विनोद भण्डारीले ट्रफीसंग तस्विर खिचाएका थिए । सो क्रममा दुवै कप्तानले आफ्नो टिमले जित्ने दावी गर्दै निकै मेहनत गरेर खेल्ने बताए । पहिलोपटक फाइनल पुगेकाले दुवै टिमका खेलाडी उत्साहित छन् ।
जारी प्रतियोगितामा चितवन र पोखराको दुई खेलमा भेट भएको छ । ती दुवै खेलमा चितवनले भारी अन्तरले जित हात परेको छ । त्यसैले आज चितवनको मनोबल बढेको देखिन्छ । लिग चरणको पहिलो खेलमा पोखराले दिएको १२४ रनको लक्ष्य पछ्याएको चितवनले २० बल बाँकी छदै ९ विकेटले विजयी भएको थियो ।