काठमाडौं। मोडेल तथा नायिका मल्लिका महत फिल्म `सत्यम´ मा अनुबन्धित भएकी छिन् । सत्यं’ को कथावस्तु र आफ्नो भूमिका मन परेपछि उनी काम गर्नका लागि राजी भएकी हुन् ।
फिल्ममा उनको जोडी अभिनेता पल शाहसँग बाँधिनेछ । गत वर्ष ‘फूल बुट्टे सारी’ गीतको म्युजिक भिडियोमा अभिनय गरेपछि दर्शकको ‘फेभरेट’ बनेको यो जोडीले पहिलो पटक फिल्ममा एकसाथ काम गर्न लागेका हुन्।
फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी मलिकाले यसपछि फिल्म ‘पानी फोटो’ मा काम गरेकी थिइन् । यो फिल्म प्रदर्शनमा आउन बाँकी छ ।
सिनेपाटीका अनुसार `सत्यम´ लाई रेसम सापकोटाले निर्माण गर्दै छन् । सत्यममा श्याम मल्ल कार्यकारी निर्माताको रूपमा रहेका छन् l समाजका एक नायकको कथा भन्ने फिल्म नवयुग सिनेमाको ब्यानरमा निर्माण हुने छ ।
फिल्मको कथा निर्माता सापकोटा आफैँले तयार गरेका छन् । गणेश पौडेल सहयोगी निर्माता रहने यस फिल्ममा सह -निर्माता रेसम गौतम, कृष्ण अधिकारी र बलराम सुवेदी रहेका छन् । विदुर पाण्डे छायाँकार रहने फिल्ममा अभिनेता द्वय अनुप विक्रम शाही र पल शाहको पनि मुख्य भूमिका रहनेछ ।
त्यस्तै, फिल्मको महत्त्वपूर्ण भूमिकाको लागि अभिनेता अभय बराल पनि अनुबन्ध भइसकेका छन् । फिल्ममा अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको छ ।