कास्की । माछापुच्छरे गाउँपालिका-३ घाचोकका नेपाली कांग्रेस वडा एकाइ समितिका सभापति कृष्णकुमार श्रेष्ठले बिपी स्मृति भवन निर्माणका जग्गा दान गरेका छन् । घाचोकमा निर्माण हुने भवनका लागि उहाँले आफ्नो हकभोगमा रहेको ४० लाख मूल्य बराबरको छ आना दुई पैसा जमिन मालपोत कार्यालयमा गएर पार्टीका नाममा हक हस्तान्तरण गरेका हुन् । घाचोकको एकाइ समितिको बैठक तथा गतिविधि सञ्चालनका लागि सहज होस् भनेर जग्गा उपलब्ध गराएको श्रेष्ठले बताएका छन् ।
उनले भने, “विसं २०३६ बाट म कांग्रेस पार्टीमा सक्रिय भएर लागेँ, बिपीको समाजवादबाट आकर्षित भएर कांग्रेसमा लागेर अहिलेसम्म सक्रिय छु । पार्टीलाई बलियो बनाउनका लागि जग्गा दान गरेको हुँ ।” कांग्रेस वडा एकाइ समितिले घाचोक बिपी स्मृत भवन निर्माणका लागि काम अघि सुरु गरेको छ । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भवनको शिलान्यास गरेका थिए ।