काठमाडौं । दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामावादमा कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायकमा छनोट भएका छन्। यस्तै कात्तिक २६ देखि २८ गतेसम्म फ्रान्समा हुने फ्रेन्च इकोपेन विश्व वरीयता तेक्वान्दो प्रतियोगिताको पनि निर्णायकमा छनोट भएका छन्।

एसियन तेक्वान्दो युनियन र युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा ढकालको छनोटको गरिएको जानकारी नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख शशिकिरण रायमाझीले दिए।

चीनको वुहानमा २०७६ कात्तिकमा सम्पन्न सातौं। विश्व सैनिक खेलकुद प्रतियोगिता र आर्मी ओलम्पिकमा समेत उनी निर्णायक मण्डलमा थिए। चीनकै उसी शहरबाट २०७४ सालमा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गरेका ढकाल काभ्रे कुशादेवीका स्थायी बासिन्दा हुन्।

कुनै पनि खेलमा सेकेन्डमै निर्णय गर्नुपर्ने हुँदा रेफ्री पेशा त्यसै पनि कठिन रहेको उनको अनुभव छ।
उनले दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायक बन्न थप चार अंक मात्रै जोड्न बाँकी छ। यसका लागि आठ अंक जोड्नुपर्नेमा चार अंक उनले पहिल्यै जोडिसकेका छन्। हालसालै मात्रै दीपेन्द्रले विश्व तेक्वान्दोअन्तर्गत दोस्रो विश्व तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री रिफ्रेसर कोर्स उत्तीर्ण गरेका थिए।