काठमाडौं । मितेरि साइनो नयाँ पुस्ताले बिर्सँदैगएको  भएपनि गाउँ घरमा अझै मितेरी लगाउने चलन हराएको छैन । नयाँ पुस्ताले बिर्सँदै गएको साइनो वा सम्बन्ध हो, मित/मितीनी अर्थात् मितेरी साइनो ।

कुनै दुई व्यक्तिका बीचमा विशेष औपचारिक विधिअनुसार पारस्पारिक बन्धुभाव गाँसिएको हितैषी साथी वा मित्र भनी मितेरी साइनोलाई बृहत् नेपाली शब्दकोषमा परिभाषित गरिएको छ ।
अहिलेको पुस्तासँग मितेरी साइनोको बारेमा सोध्यो भने एक–अर्काको मुख हेर्छन् तर प्राचीन कालदेखि चलिआएको एउटा सुमधुर सम्बन्धको बलियो धार हो मितेरी साइनो । यसले महत्वपूर्ण विशेषता बोकेको छ । कसैको मित छैन वा कसैको मितिनी छैन भन्दा यसमा त्यस्तो के छ ? मित÷मितिनी हुनैपर्ने हो र ? भन्ने लाग्ला ।

यो एउटा अन्जान सम्बन्धलाई सुमधुर सम्बन्ध बनाउन मदत गर्ने बाचा हो, जसले दुई फरक समाज, फरक परिवार, फरक जात, र फरक क्षमता भएकालाई एक बनाउँछ । त्यस्तै फरक अस्तित्व, फरक भूगोल अनि फरक संस्कृति र फरक परिवेश समेत भएका फरक व्यक्तिसँग जोड्ने गर्दछ । हिमाली जिल्ला सोलुखुम्बुको शेर्पालाई तराईको चौधरीसँग एउटै थालमा खाने घनिष्ठ मित्र बनाउँछ मितेरी साइनोले ।

मित लगनउनु एकप्रकारले मित्रताको सम्बन्धलाई बलियो एवं दिगो बनाउने प्रयास हो । अनुहारको रूपरङ्ग, जातधर्म, भेषभूषा, उमेर आदिजस्ता कुनै पनि कुरा मित गाँस्ने सन्दर्भमा बाधा बन्दैनन् । मित मनको सम्बन्ध हो, सामाजिक व्यवहारको सम्बन्ध हो, जीवन अगाडि बढाउने क्रममा सुखदुःखलाई साझा भोगाइमा ल्याएर जीवनको मिठास बाँड्ने सम्बन्ध हो ।

मितेरि साइनो र मावलि सँग बराबर को साइनो लाग्छ, मावलिलाइ सात पुस्ता सम्म नाता लाग्छ भने मितेरि साइनो पनि सात पुस्ता सम्म साइनो लाग्छ भन्ने भनाई छ ।

यसरी खोटाङको ऐसेलुखर्क गाउँपालिकामा बढादशै‌को अबसरपारेर धन कुमार  कार्की र लाल बहादुर जोगी ले पनि मित लगाएका छन् । सुखमा मात्र नभएर दुखमा पनि परेको बेला एकअर्कालाई साथ दिने दुइ मित को भनाई छ। यसैगरी त्याहा हरेक वर्ष कसै न कसैले मित लगाइरहेका हुन्छन् र मितेरी साइनो गाँस्ने परम्परा गाउँ घरमा अझै कायमै रहेको छ ।

मितेरी लगाउदा दियो बालि दियो साचि राखेर आफुसँग भएको चिजहरु एकआपसमा चिनोको रुपमा साटासाट गरेर ३ मित बोलेर मित लगाइन्छ । दुवैतर्फबाट ठाउँअनुसारको सगुन राखिएको हुन्छ । आफ्नो संस्कार र परम्पराअनुसार चलनमा भएअनुसार बिस्कुट, सेलरोटी, फलफूल, २ बोतल रक्सी आदि राख्ने गरिन्छ ।

सर्वप्रथम त मितरमितिनी लगाउनको लागि दुई जना तयारी हुनुपर्यो । के कारणले मितरमितिनी लगाउन तयार भएको खुलाउनु पर्छ, त्यसपछि एक–अर्काले ल्याएको उपहार साटासाट गर्ने, कहिल्यै झगडा गर्दैनौँ भनेर बाचा गर्ने, सँगै सुत्नु पर्यो भने विस्ताराको बीचमा केही साँध लगाउने, एक–अर्काको नामले बोलाउन नपाउने, मितरमितिनीको साइनोचाहिँ साथी हुनुपर्ने, एक–अर्कालाई तिमी र तँ भन्न नपाइने तपाईँ नै भन्नुपर्नेजस्ता कुराहरू मितरमितिनी लगाएपछि पालना गर्नुपर्ने नियमहरू हुन् यही मित्रताको सम्बन्धलाई बलियो गरी कस्ने नेपाली संस्कार हो मितेरी साइनो लाउने चलन छ।

हाम्रो समाजमा मितेरी सम्बन्धको यति ठूलो महत्व छ कि बाबुआमाको मृत्यु हुँदा आफ्नो छोराछोरी नजिक नभएको खण्डमा मितछोरा वा मितछोरीले पनि काजकिरिया गर्न मिल्छ भन्ने मान्यता समेत चलिआएको छ । कहिल्यै नदेखेको कहिल्यै नभेटेको, पूर्व, पश्चिम जहाँको भए पनि मितेरी साइनो जोडेपछि ऊसँग घनिष्ठ मित्र सम्बन्ध रहन्छ ।

मित र मितिनी अर्थात् मितेरी साइनो लगाउनुको मुख्य उद्देश्य भनेको नै कहिल्यै नचिनेको, नभेटेको मान्छेलाई घनिष्ठ मित्र बनाउनु हो । अझ कतिपय अवस्थामा त सधैँ झगडा गर्ने दुई व्यक्तिलाई मिलाउने अचुक औषधिका रुपमा समेत यसलाई लिने चलन थियो । मित लगाएपछि एकअर्कालाई सम्मान गर्नुपर्ने र त्यसो नगरे पाप लाग्ने डरले यो सम्बन्ध अरुजस्तो सस्तो र कुरा नमिले तोडिहाल्ने खालको नभएर मजबुत खालको सम्बन्ध हो ।

मितेरी साइनोको महत्व सामाजिक रुपमा मात्र नभएर वैज्ञानिक रुपमा समेत उत्तिकै रहेको छ । मनोचिकित्सकहरू भन्छन्– ‘मित्रतापूर्ण व्यवहारले मानसिक सन्तुलन गुमाएका वा मनस्थिति खल्बलिएकाहरूलाई समेत ठीक बनाउन सहयोग मिल्छ । घरपरिवारको माया नपाउँदा र एक्लो हुँदा धेरै पिर परेर हुने खालका मानसिक समस्या मित लगाउने वा मिल्ने साथी पाएपछि कम हुन्छ । नेपालमा यो विषयमा व्यवस्थित अध्ययन नभए पनि यस्ता किसमका धेरै घटना समाचारमा आइरहेका छन् ।

तर अहिलेको समयमा मितेरी साइनो दिनानुदिन लोप हुँदै गइरहेको छ । गाउँघरमा कहीँकतै अझै पनि मितेरी साइनो लगाउने चलन छ, तर सहरमा भने यो साइनोको नाम निशाना नै हराएर गएको छ । मानिसहरू आधुनिकतातिर धकेलिँदै गर्दा प्राचीन कालदेखि चलिआएका यस्ता पुराना चलन, मूल्य मान्यता र विश्वास सबै बिर्सँदै गइरहेका छन् ।