काठमाडौं । जारी आईसीसी टी–ट्वेन्टी विश्वकपमा भारतमाथि पाकिस्तानले शानदार जित निकालेको छ। आइतबार राति युएईको दुबई अन्तर्राषट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा भारतमाथि पाकिस्तानले १० विकेटको जित निकालेको हो।
बहुप्रतिक्षित खेलमा पाकिस्तानलाई जिताउन मोहम्मद रिजवानले ७९ रन बनाए। उनले ५५ बलमा ३ छक्का र ६ चौका हिर्काए। त्यस्तै कप्तान बाबर अजामले ६८ रन जोडे। उनले ५२ बलमा २ छक्का र ६ चौका हिर्काए।
टस जितरे पाकिस्तानले फिल्डिङ रोजेपछि भारतले जितका लागि १५२ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पाकिस्तानले १७।५ ओभरमै बिना विकेटको क्षति पूरा गर्यो ।
यसअघि ब्याटिङ गरेको भारतले मध्यम सुरुवात गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो। उसका लागि कप्तान विराट कोहलीले ५७ र रिशभ पन्तले ३९ रन बनाए। त्यस्तै रविन्द्र जडेजाले १३ रन बनाए। ओपनर रोहित शर्मा पहिलो बलमै एलबीडब्लू धरापमा परे।
पाकिस्तानका लागि शहिन शाह अफ्रिदीले ३ र हसन अलीले २ विकेट हात पारे। त्यस्तै शदव खान र हरिश रौफको नाममा पनि १र१ विकेट रह्यो।
यो जितसँगै पाकिस्तानले इतिहास रचेको छ। पाकिस्तानले आईसीसीको टी–ट्वेन्टी विश्वकपमा भारतमाथि जित हात पारेको यो पहिलो पटक हो। उसले एकदिवसीय विश्वकपमा पनि भारतलाई पराजित गर्न सकेको छैन।
भारत र पाकिस्तानबीच लामो समयदेखि राजनीतिक तनाब, सीमा विवाद र विभिन्न विषयमा खिचातानी हुँदै आएको छ। त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा पनि देखिने गरेको छ। यी दुवै राष्ट्रले क्रिकेटका भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेर्ने गरेका कारण पनि अरु खेलले भन्दा भारत–पाकिस्तान भिडन्तप्रति धेरैको चासो रहने गरेको छ।