सार्जाह । जारी टी–२० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गतको आफ्नो पहिलो खेलमा अफगानिस्तानले फराकिलो जित निकालेको छ । अफगानिस्तानले सोमबार राति युएईको सार्जाह क्रिकेट रंगशालामा सम्पन्न खेलमा स्कटल्यान्डलाई १३० रनले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले स्कटल्यान्डलाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य पछ्याएको स्कटल्यान्ड १०।२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६० रनमा समेटियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले २५ रन बनाउनबाहेक अन्य ब्याट्समेनले उल्लेख्य रन जोड्न सकेनन् ।

स्कटल्यान्डकासामु अफगानिस्तानका मुजिब उर रहमान घातक सावित भए । उनले ४ ओभर बलिङ गर्दै ५ विकेट लिए । उनले २० रन मात्र खर्चिएर ५ विकेट लिएका हुन् । त्यस्तै रसिद खानले ४ विकेट हात पारे भने नविन उक हलले १ विकेट लिए ।