हुम्ला ।  हुम्लामा नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान नभर्दा जिल्ला बाहिरिने जिल्लावासीले थप समस्या भोग्नुपरेको छ । वैशाखदेखि नेपाल वायुसेवाको जहाजले उडान नभरेपछि हुम्लाबाट नेपालगञ्ज, सुर्खेतलगायत बाहिरिने यात्रुलाई सास्ती भएको छ ।

दसैँ मनाएर काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, पोखरालगायत सहरमा अध्ययन गर्न जाने विद्यार्थी हुम्लामै अलपत्र परेका छन् । पहुँचवालाले सहजै टिकट पाउने र सर्वसाधारण नागरिकले हप्ता दिनसम्म एयरपोर्ट धाउँदा पनि टिकट नपाएको सिमकोट गाउँपालिका–२ का दीपेन्द्र बोहराले गुनासो गरे। निजी एयरलाइन्स तारा र समिटले उडान गरे पनि भित्रभित्रै टिकट वितरण हुने गरेको छ । सीता एयरले चार÷पाँच दिनयता उडान नगरेको यात्रुको दुःखेसो छ ।