मुगु : घरभित्र राखेको भरुवा बन्दुक खेलाउँदा खत्याड १० वर्षीय बालकको मृत्यु भएको छ । खत्याड गाँउपालिका—१० डुमान गाँउका परे रावलको घर भित्र भरेर राखेको भरुवा बन्दुक खेलाउँदा सोही वडाका अमरसिंह रावलका छोरा विकास रावलको कार्तिक पाँच गते घटनास्थलमै मृत्यु भएको हो ।
घर आगनको बारीमा रोपेको आलु मकै दुम्सिले सखाप बनाउन थालेपछि दुम्सि मार्न भरेर तयारीमा राखेको भरुवा बन्दुक घरमा कोही नभएका बेला बन्दुक धनी परे रावलका ८ वर्षका तिर्थ रावल, सोही वडाका बीरमान रोकायाका ११ वर्षीय छोरा गोर्ख रोकायाले खेलाउँदा विकासको ज्यान गएको वडा अध्यक्ष तिलक रावलले जानकारी दिए ।
विकासको मृत्यु भइसकेपछि दुई बजे पछि सुकाढिक प्रहरी चौकीलाई स्थानीयले खबर गरेपछि सुकाढी प्रहरी चौकी र ईलका प्रहरी चौकी रातापानीबाट प्रहरी मुचुल्का गरी मृतक बालकको ७ गते प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा पोष्टमार्टम गर्न पठाएको थियो।
अवैध भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले बन्दुक धनी परे रावललाई हतियारसहित नियन्त्रणमा लिएको छ ।