कपिलवस्तु । कृष्णनगर / ५ डेबराका गंगादेवी पाण्डेय घरको आँगनमा इनार रहेको छ। दसकौँ वर्ष अगाडि खनिएको इनारदेखि पानी नियाल्दा गाढा कालो देखिन्छ। पानीको सतह हेर्दा घीन लाग्छ।
भ्यागुताले टाउको देखाउँदै डुबुल्की मारेको देखिन्छ। तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने नीति बनाएका छन् । तर डेबराका विपन्न र दलित समुदाय भने पानी पिउन इनार सहारा लिनुपरेको छ।
गाउँका अगुवा वंशराज रैदास भन्छन्, ‘गाउँमा तीन सातादेखि हैजा फैलिएको छ। दूषित पानी खाएका कारण हैजा फैलिएको भन्दै स्थानीय सरकारले स्वच्छ पानी खान आग्रह गरेको छ। तर हामी सँग कुनै उपाय नै छैन ।
हैजा प्रभावित कपिलवस्तुको कृष्णनगर नगरपालिका/५ डेबरा गाउँका स्थानीयलाई इनारको पानी पिउने बाध्यता छ। पानी पिउन धारा नभएका कारण विपन्न तथा दलित परिवार दशकौँदेखि इनारको पानी खाँदै आइरहेका छन्। केही घरधुरीले चापाकल प्रयोग गर्ने गरेका छन्। तर चापाकलको पाइप भने इनारमा पुर्याइएको छ।
इनारको पानी प्रशोधन नगरी दैनिक क्रियाकलापमा प्रयोग गरिएको हो, झाडापखालाको सर्वे गर्ने क्रममा स्थानीयसँग सोधपुछ गर्दा इनारको पानी पिउने गरेको थाहा भएको हो।
‘स्थानीयले इनारको पानी पिउन, लुगा धुन, नुहाउन र गाईवस्तुलाई खुवाउनसमेत प्रयोग गर्छन्। सर्वे गर्दा वंशराज रैदास, त्रिवेणी रैदास, छोटकाउ रैदास, नन्काउ रैदास, जोगराम रैदास, राम किशोर रैदास, पुरन रैदास, गंगादेवी पाण्डे र उनका छिमेकीले समेत इनारको पानीको भर पर्ने गरेका छन्।