काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसैले विरोध गर्दैमा आफूले राजीनामा नदिने बताएका छन् । आज (मंगलबार) बिहान सर्वोच्च अदालतका १५ जना न्यायाधीश प्रधानन्यायाधीशलाई भेट्न उनको चेम्बरमा पुगेका थिए । सो क्रममा प्रन्या जबराले सडकको आवाज सुनेर आफूले राजीनामा नदिने बताएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले नै उनको भद्र अवज्ञा गरेर राजीनामा दिन सुझाव दिँदा जवाफमा आफू संवैधानिक बाटोबाट आएकोले संवैधानिक हिसाबले नै बाहिरिने बताएका हुन् ।
प्रन्या जबराले यदि कुनै फैसला विवादित भएकै कारण राजीनामा दिनुपर्ने भए अरू न्यायाधीशका पनि फैसला विवादित भएको भन्दै कि त सबैले सामूहिक राजीनामा दिनुपर्ने बताएका थिए ।