२०५५ सालको जेष्ठको दोश्रो हप्ता तिरको कुरा हो म ६ बर्षको थिएँ लगभग साँझ पर्न लागेको बेला आफ्नो मातहतमा भएका बाख्रालाई गोठमा लगेर बाँधेँ, अनि भोली फेरी पनि ति नै बाख्राहरुसँग पाखामा चराउन संगै जाने बाचा गरेर घर पसेँ।आज आँगन पुग्दा नै मिठो बास्ना आयो आज घरमा मासु पाक्दै भन्ने सुँईको पाएँ सायद उ बेला आमाले कसौँडिमा मासु भुट्दै गरेकि हुँदिहुन् । मेरो मनको माहोलमा आज निकै नै रौनक देखिन्थ्यो लाग्दै थियो आज हाम्रो दशैँको नवमी हो ।

घरिघरि महिना, २ महिना जसोमा गाँउमा खसि काट्थे, यो कुरो हामी जस्ता केटाकेटीलाई पहिले नै थाहा हुन्थ्यो । एक बिसौली मासु हाम्रोमा सँधै चाँहिने कहिले नपुगेर अलि कम आउँदा मन खिन्न हुने गर्थ्यो सायद केटाकेटी पन हुँदो हो सँधै धेरैको नै लोभ हुने।

घरमा भित्तापट्टि टाँसेर बनाईएको खाटमा २ जना सुकिला लुगा लगाएका मान्छेहरु बसेको रहेछन, कट्टु र सिंगान सँगै तान्दै नमस्कार ठोकेँ उ बेला हाम्रामा घरमा आएका हरेक ठुला मान्छेहरुलाई नमस्कार टक्र्याउँने संस्कार सिकाईसक्नु भएको थियो ।

म घरभित्र छिर्नासाथ अलि अग्ला जुँगा गज्जबले पालेकाले हत्तनपत्त सोधे,
अनि यि चाँहि ?
यो मेरो साँईलो ।
यो प्रश्न पछि बुवाको आँखामा थोरै असहजता अनि अलि धेरै अपेक्षा देखिन्थ्यो । बुवाले अलि अप्ठ्यारो मान्दै जबाफ दिनुभयो सायद यिनले पहिल्यै केटाकेटी घर परिवारको विषयमा सोधेर हैरानी पारीसकेका हुँदाहुन् ।

तपाँईले सक्नु भएकै हो सर यत्रा केटाकेटी हुर्काउनु निकै चुनौतीपूर्ण काम हो ।अर्का सुकिला काकाले गहन मुद्रामा भावपूर्ण शब्दहरु थपे ।
चुलामा आँमा फिस्स मुस्कुराउँदै मासु भुट्दै हुनुहुन्थ्यो, आमालाई पनि ति काकाको शब्दले कतै छोयो होला, दुखलाई काट्ने केहि औषधि त कसैका मिठा शब्दहरु पनि त हुन नि ।

माईलो अघि नै चुलाको छेउमा धुँवा सँग लडाँई गर्दै आँखा मिच्दै बसेको रहेछ। केटाकेटिपन उस्मा पनि देखिन्थ्यो ता कि उ नै आँमाको सबैभन्दा प्यारो छोरो हो र अहिले सम्म आमाले निकै टुक्रो मासु पोलेर खुवाईसकेको जस्तो भान सँगै रसिलो ओठ पारेर मुस्कान छाँट्दै थियो ।
को हुन यि मान्छेहरु ? किन आए होलान् ? यिनका परिवार कस्ता होलान, बाख्रा गोरु, बारी खेत आदि ईत्यादी यि सबै मेरो मनमा कौतुहलता बनेर खेलिरहेको थियो मानौ कि म यिनको सबै कुरा जान्नको लागि अन्तर्वार्ता लिने तयारी गर्दैछु । आफ्नै मनमनै ।

खाना खाएपछि आँमाले ओछ्यान लगाई दिनुभयो म र माईलो सँगै सुत्यौँ । पेट अस्पट पार्दै ओछ्यानमा लडेर एकछिन गफ सुनेँ, कस्ता मिठा गफ गर्दै थिए आजका पाहुनाहरु । सिराहामा तालिममा जाँदा भएका केहि ईभेन्टहरु बुवालाई सुनाएपछि पक्का भो यि दुबै शिक्षक नै रहेछन् । संभवत मनमा भएका अनेक कौतुहलताहरु मध्ये कुनै एकको उत्तर हात पर्दा निकै हलुंगो अनि आँफै प्रफुल्लित हुनेँ त्यसैले त होला म भुसुक्क निदाएछु ।

बिहान करिब ७ बजे तिर उठेँ, प्राय उठने बित्तिकै आँमाले हरेक दिन कुराउनि ेदुध तताईसकेपछि कुँडेमा बसेको रहलपहल० दिनुहुन्थ्यो तर आज बिहान उठ्दा आँमा पनि देखिँन अरु कोहि पनि न त कचौरामा अरु दिनको जस्तो कुराउनि नै जस्तो कि आज घर रुंग्न मलाई राखेर सबै जना काममा हिँडे ।

उत्ता चुल्होको छेउमा मकै र भटमास भुटेर खाजा राखिदिएको रहेछ केहि बेर मकै चपाउँदै हिजोका मान्छेहरु सम्झिँदै बसेँ ।पेट टन्न भएपछि बल्ल याद भयो , कोहि नभए पनि माईलो त घरै हुन्थ्यो तर उ पनि आज थिएन कता गयो होला प्रश्न थपिँदै जानथाल्यो उमेरले उ दाई भए पनि मैले तँ नै भन्ने गरेको थिएँ यस मै धेरै मायाँ थियो अनि सदभाव पनि ।

आज पनि बिहानको काम पुरा गर्न बाख्राहरुलाई हतार हतार खोरबाट दाम्लो खोलेर पाखातिर कुदाईहाले यो मेरो हरेक बिहानको कार्यतालिका नै थियो । बर्षायामको सुरुसुरुको माहोलले हल्का फुल्का पानी परेको हुँदो हो, चरनमा भएका बाख्राहरु ओसिला देखिन्थे । हिंउँदको जाडोमा मैलोले बेरिएका भुत्लाहरु अलि फुलेका थिए ति बाख्राहरुका बैशाख महिनामा पाक्न नभ्याएका केहि पाकेका ऐसेलु मलातोको हरियो पातमा बटुलेर टिपेँ, एकमुठि जति ऐसेलुका टोप्रा जम्मा भएपछि डिलमा बसेर ग्वाम्म मुखमा हालेको सम्झँदा अहिले पनि मुख रसाउँछ ।

साथी बाख्रा मात्र थिएनन् मेरा, ति जंगलका हरेक रुखहरु मेरा साथि थिए । कहिले म तिनका हावाले उडाएका पातहरुबाट निस्केका मधुर आवाज सुन्थेँ त कहिले ति रुखहरु शुन्यतामा भएको बेला मलाई सुन्ने गर्थे, उ बेला मैले गुनगुनाउने मेरो शुर र ताल बिनाको सांगितीक आवाजहरु । केहि बुट्यानका मुलायम पातहरु, विना स्वार्थ बगिरहको खोलाको पानीको आवाज, चराहरुका मिठा आवाज र मालिंगोको सुरिला ढुङग्री मेरा संगितिक धुनका लागि सँधै झैँ साधन बन्ने गर्थे ।जिन्दगिले हरेक चिजको उपभोग कहिँ न कतै गरेर खुसि तुल्याउने भूमिका खेलेको हुँदो हो त्यसैले त हरेक चिज प्यारा लाग्ने अनि मिठा लाग्ने ।

करिब नौ बजेको हुँदो हो हिजोको घर आउँदाको घरको माहोल अनि रौनक आज ठिक बिपरीत थियो, खिन्न परेको घर अनि खिन्नताबोध गरेजस्ता घरका सदस्यहरु । लाग्थ्यो कि हरेक सदस्यका प्रेमि, प्रेमिकाले एक्लो अनि शुन्य पारेर आफ्नो बाटो तताय । केहि बेरमा स्कुल जानलाई हतारमा भात खाँदै गर्दा आँमालाई सोधेँ ।

खोई मेरो आजको कुराउनि ?
आमा चुईँक्क बोल्नुभएन । उता फर्केर केहि बेर टोलाएजस्तो गर्नुभयो अनि फेरी हामी पट्टि फर्केर तरकारी चाहिन्छ सोध्नुभयो । दिदीले थाल अलि पर धकेलि आँमा तरकारी थपिराखेर बाहिर पो निस्कनु भयो । मेरो हरेक दिन जिब्रोको स्वाद फेर्ने कुराउनि मैले कसरी बिर्सन सकुँ, कुन मनले चित्त बुझाँउ बिना कारण भाग खोसिएको कुरालाई । सानो होस वा ठुलो खोसिएको वा छुटेका भागको महत्व निकै हुने त्यसैले त उम्केको माछो ठुलो भन्ने भनाई बनेको हुँदो हो ।

माईलोको आँखा रसिला देखेँ, केहि उराठपन पनि । लाग्दै थियो मेरो भागको कुराउनि उसैले दन्कायो अनि रिसाउला भन्ने डरले उ उदास छ । यत्तिकैमा मधुरो स्वरमा बोल्यो अब त सेतो रंगको भैसी देखिँदैन होला है दिदी ?
दिदी बोलिनँ । मौन बसिरहि सायदै उसलाई पनि त्यहि प्रश्न मनमा खेलिरहेको हुँदो हो । मलाई उत्सुकता जाग्यो कि हाम्रो बाहेक कसैको घरमा सेतो भैंसी नहुने होला । सोधिहालेँ, किन र हाम्रो भैंसिको पाडो सेतो छ, पछि बेचेपछि कसैको घरको सेतो भैंसी भईहाल्छ नि उसका गहभरी आँसु थियो उ अझै मौन बन्न खोज्दै थियो तर सकेन । हाम्रो सेतो भैंसी बेचिसके उ बोल्यो ।

हो साँच्चै सेतो भैसी ब्याबहारमा पनि सेतै थियो । कसैलाई नहान्ने, फनक्क घुमेको सिङमा हामी पालोपालो बस्दा पिङ खेलेजस्तो लाग्ने, जे पनि घाँस खाईदिने, गमक्क परेको बलियो, जसलाई पनि दुध दिने ओहो बैगुन एकमात्र थियो उसको थाक्ने समयमा थाकिदिन्थ्यो । यति गुनि भैसि अहिलेसम्म मैले देखेको छैन, कताकता सुनेको चाँहि छु ।
मनमा सन्नाटा छायो, जिब्रोमा दुध र कुराउनिका स्वाद लरबरीन थाले मन लामो यात्रामा दौरा सुरुवाल लगाएर हिडेका मान्छेको आदि बाटोमा पुगेपछि सुरुवालको सुता छिने जस्तै गरी चटक्क चुँडियो, खाँदै गरेको भातको स्वाद फेरीयो, अनेक भयो । केटाकेटीलाई यस्तो बिधि नहुनु पर्ने हो तर भयो सायद सबैको मन राम्रै चिजमा बढि अडिएको हुँदो हो ।
अब मिठा कुरा गर्दै जुंगा मुठार्ने काका का छोराछोरी हाम्रो सेतो भैसिको दुध र भरपुर गुणमा रमाउने दिन आईसकेको थियो । १३ हजारमा सेतो पाडो सहित बेचिएको भैंसिको दाम्लो छोड्दा माईलोले एक सय रुपैयाँ पाएको रहेछ त्यो सुनेपछि झन मन रोयो, म बिहानै उठेको भए कतै मेरो भाग पर्थ्यो कि यहि त होला केटाकेटीपन जे मा पनि लोभ नै हुने, अरु भन्दा आँफै अघि हुनुपर्ने ।

त्यो दिनैभरी मन रोयो, २ कक्षामा पढ्ने सहपाठी सबैले थाहा पाए । सँधै गुणको चर्चा पाएको हाम्रो प्यारो सेतो भैंसी अब हामीसँग थिएन यो कुरामा केहि साथी खुसी भए त केहिले सहानुभूति देखाए। स्कुलबाट फर्केपछि बेलुकि पनि बाख्रा चराउन उहि पाखा गएँ । सँधै हँसिला, खुसिला रुख, बिरुवा, खोला आज निराश नै देखिन्थे लाग्दै थियो यि सबैमाझ पनि सेतो भैसि नभएको हुँदो हो । म निकैबेर रोएँ, बरबरी आँसु झारे । दिनभरी मन थामेको म कोहि कसैको कारणले रहेछ, अनि आन्नद बाँड्ने पो साथीसंगी हुँदारहेछन् तर दुख बाँड्ने अन्तत प्रकृति हुँदोरहेछ । सबै मान्छे प्रकृति हेरेर एकान्तमा रुँदा हुन् आफ्ना पिडा पोख्दाहुन र सहानुभूति पाएका हुँदा हुन् । हो गुमाएका कुराहरु निकै गतिला अनि प्यारा लाग्दा रहेछन् चाहे त्यो प्रेम होस या मन परेका अन्य चिज ।

केहि दिनमा अझै बढि दुध दिने लाहुरी भैंसी घरमा बुवाले ल्याउनु भयो घ्यू पनि अलि धेरै लाग्छ भनेर आमाले अरुलाई सुनाएको सुन्थेँ र पनि मन खिन्न हुन्थ्यो त्यहि सेतो भैसीको सम्झना आउथ्यो । केवल प्रेम होला बस्तुभाउ सँगको, मायाँ होला उसका राम्रा ब्यवहार र गुणको अनि सदैवको नमेटिने सम्झना अझै बाँकि छ त्यो सेतो भैसिको ।

सेतो भैसी बेचेपछि २० वटा भैंसी हाम्रा घरमा आए होलान १५ बर्षदेखि यि हातले काटेका २ मुठ्ठि घाँस कुनै पनि जनावरले खान पाएका पनि छैनन् ।त्यो सेतो भैंसी सायदै मनमा नआको पनि निकै बर्ष भएको हो नै ।
सहरीया जिवन बिताउने चक्करमा काठमाण्डौँको एक कुनामा घोत्रिएको म र म जस्ता धेरैले यस्ता जनावर प्रतिको उ बेलाको मायाँ प्रेम बिर्से पनि होलान ।

कुनै कहानीहरु बनाईएका कथाहरु जिन्दगीका धेरै मोड र घुम्तिमा मिल्ने गर्छन। केहि केहि मात्र आफ्ना कथासँग दाँजिन्छ, तुलना गरिन्छ खुसी भईन्छ अनि दुखी पनि । आज ‘प्रकास’ चलचित्रमा राखिएको गाईको बाच्छो बेच्दाको भावुकता, खिन्नतापन, नोक्सान अनि आँफुले पालेको जनावर प्रतिको मायाँ देख्दा मैले हाम्रो करिब २४ बर्ष अघिको सेतो भैंसी सम्झिएँ, शरीर जिरीगं गर्यो, हातहरु सलबलाए मन गह्रौ भयो सायद धेरैलाई यो चलचित्रमा यस्तै हुँदो हो ।

केहि केहि गुमाईएका कुराहरु राम्रा कथाका पात्र बन्दारहेछन् । गुमाईएका मध्ये प्रेमिल, अविश्मरणिय र सम्झनारुपी सेतो भैंसीलाई जहाँ भएपनि लामो आयुको कामना र प्रकास चलचित्रका सम्पूर्ण टिमलाई धन्यवाद ।

झनक कार्की
ऐसेलुखर्क १, खोटाङ
हाल काठमाण्डौँ