वीरेन्द्रनगर : कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक जना प्रहरी जवानले आफ्नो कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । बिहीबार बिहान २:५६ बजेतिर डिउटी सकिने बेला आफैँले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।

दार्चुलाको अपी नगरपालिका- ६ घर भई प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दी भएका कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत २६ वर्षका कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्महत्या गरेका छन् । बिक बिहान १ बजेदेखि ३ बजेसम्मको समयमा ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए । डिउटी सकिने बेलामा बिकले आफैँले बोकेको एसएलआरबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटनाको थप अनुसन्धानको लागि  जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटाएको छ । सुर्खेत प्रहरी प्रमूख एसपी योगेन्द्रसिंह थापाले जवानले के कारणले आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘घटनाको विषयमा गहिरो अनुसन्धान भइरहेको छ ।’