चितवन । गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र वाग्मती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो ।अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा सहमति भएको हो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने निर्णय गरेको छ ।

बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान  ७५ करोड रुपैयाँ बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो । भरतपुर महानगरपालिकाका इञ्जिनियर सन्तोष आचार्यका अनुसार अहिले भइरहेको तल्लो तहको प्याराफिटको एक तहमाथि प्याराफिट निर्माण गरिने छ । मैदानको आकार मात्रै बनेको भन्दै उनले दुबो लगाउने र पिचको काम गरिने जानकारी दिए । खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापनलगायतका काम यसै चरणमा हुने उनले बताए ।यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्दाको बाँकी भुक्तानी लगायतका विषयमा संघीय सरकारले निर्णय गर्ने उनले बताए । उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाभित्र रहेको महत्वपूर्ण आयोजना भएकाले यसलाई सहजरुपमा सम्पन्न गर्न रोकिएको काम अघि बढाउने गरी प्रदेश सरकारसँग सहमति गरिएको बताए ।

रंगशाला निर्माणमा हालसम्म फाउन्डेसनले ५७ करोड ९२ लाख ८५ हजार ७३८ खर्च भएको जनाएको छ । त्यसमध्ये १८ करोड ४३ लाख ऋण छ । फाउन्डेसनले वक्यौता तिर्न बाँकी राखेर काम छाडेकाले यसलाई अघि बढाउन अप्ठ्यारो परेको थियो ।